काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारलाई १०५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। नेपालको इनिङ्समा साबित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय योगदान दिइन् ।
१३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमै २५ रनमा समेटियो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक व्यक्तिगत स्कोर ४ रन मात्र रह्यो ।
नेपालको बलिङतर्फ रचना चौधरी र रिया शर्माले समान ३–३ विकेट लिएर कतारको ब्याटिङ लाइनअप धराशायी बनाए । उत्कृष्ट बलिङ प्रदर्शनकै कारण नेपालले १०५ रनको फराकिलो जित दर्ता गर्न सफल भयो ।
नेपालले अब प्रतियोगिताको दोस्रो खेल आइतबार सिंगापुरसँग खेल्नेछ ।
