ला लिगाको नयाँ सिजन आजबाट शुरु हुँदै

काठमाडौं । स्पेनिस शीर्ष डिभिजन फुटबल प्रतियोगिता ला लिगाको २०२६/२७ सिजन आजदेखि सुरु हुँदैछ। नयाँ सिजनको पहिलो चरणमा विभिन्न क्लबबीच प्रतिस्पर्धा हुँदा उपाधि, युरोपेली प्रतियोगितामा छनोट र रेलिगेसनबाट बच्ने लक्ष्यसहित टोलीहरू मैदानमा उत्रिँदैछन् ।

सिजनको पहिलो खेलमा डेपोर्टिभो अलाभेसले घरेलु मैदानमा गेटाफेको सामना गर्नेछ । मेन्डिजोरोत्जा स्टेडियममा हुने खेलमा अलाभेस घरेलु मैदानको फाइदा उठाउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ भने गेटाफे तीन अंकसहित फर्कन चाहन्छ ।

गत सिजन अलाभेसले १४औँ स्थानमा रहँदा गेटाफेले सातौँ स्थानमा रहेर लिगको अन्त्य गरेका थिए । त्यसैले नयाँ सिजनको सुरुवाती खेलमै दुई टोलीबीचको प्रतिस्पर्धा रोमान्चक हुने अपेक्षा गरिएको छ ।

शनिबारकै दोस्रो खेलमा सेभिया र रायो भायेकानो आमनेसामने हुनेछन् । घरेलु टोली सेभिया र पाहुना टोली रायो दुवै नयाँ सिजनमा पहिलो अंक जोड्दै आत्मविश्वासका साथ अघि बढ्न चाहन्छन्।

पहिलो चरणका खेल आइतबार पनि जारी रहनेछन् । १४ वर्षपछि ला लिगामा फर्किएको रासिङ सान्तान्देरले भिल्लारियलको सामना गर्नेछ । यस्तै, एस्पान्योलले लेभानटेलाई आतिथ्य प्रदान गर्नेछ ।

पहिलो चरणका खेल सोमबार डेपोर्टिभो ला कोरुन्या र इल्चेबीचको खेलसँगै समापन हुनेछ । यस्तै, एट्लेटिको मड्रिडले मालागासँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच, गत सिजनका च्याम्पियन बार्सिलोना र रियल मड्रिडले पहिलो चरणका खेल खेल्ने छैनन् । विश्वकपमा सहभागी आफ्ना केही खेलाडी ढिला फर्किएपछि दुवै टोलीले दोस्रो चरणबाट सिजन सुरु गर्ने भएका हुन् । रियल मड्रिडले अगस्ट २२ मा एस्पान्योलसँग खेल्दा बार्सिलोनाले अगस्ट २३ मा इल्चेको सामना गर्नेछ । बार्सिलोना लगातार तेस्रोपटक ला लिगाको उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

प्रविधितर्फ पनि नयाँ सिजन ला लिगाका लागि विशेष रहनेछ । ला लिगाले ‘कनेक्टेड बल’ प्रविधि व्यापक रूपमा प्रयोग गर्ने घोषणा गरेको छ । बलमा जडान गरिएको रेडियो फ्रिक्वेन्सी सेन्सरले बलको अवस्थिति तथा बलले खेलाडी वा अन्य वस्तुलाई छोएको सटीक समयको वास्तविक समयमै जानकारी उपलब्ध गराउनेछ ।

यो प्रविधिबाट प्राप्त तथ्यांक प्रत्येक रंगशालामा जडान गरिएका करिब १२ वटा एन्टेनाको नेटवर्कमार्फत संकलन गरिनेछ र ला लिगाको विद्यमान प्राविधिक प्रणालीसँग एकीकृत गरिनेछ ।

सिजनको पहिलो चरण क्लबहरूका लागि विशेष महत्त्वपूर्ण मानिन्छ । प्रि–सिजनको तयारीपछि टोलीको वास्तविक क्षमता परीक्षण गर्ने तथा प्रशिक्षकहरूलाई खेलाडी र टोलीको प्रतिस्पर्धात्मक अवस्था मूल्यांकन गर्ने अवसर पहिलो चरणले प्रदान गर्छ ।

नयाँ सिजनमा उपाधिका लागि मात्रै नभई युरोपेली प्रतियोगितामा छनोट, शीर्ष स्थानका लागि प्रतिस्पर्धा तथा रेलिगेसनबाट बच्ने संघर्ष पनि रोचक हुने अपेक्षा गरिएको छ । त्यसैले २०२६/२७ को ला लिगा सिजन सुरुदेखि नै प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *