किन चाहियो ‘ब्लू बस’?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानले २०८० साउनमा निकै तामझामका साथ चितवन २ मा ‘ब्लू बस’ संचालन गरे । महिलालाई लक्षित गरी कालिका नगरपालिका हुँदै भरतपुर तथा नारायणगढ क्षेत्रमा ‘ब्लू बस’ संचालन गरेका हुन् । हरेक बिहान शक्तिखोरबाट छुट्ने बस कालिका नगरपालिकाका साथै भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने र उक्त बस साँझ फेरि शक्तिखोर फर्कने रुट रहेको थियो । उक्त बस चढ्नका लागि यातायात कार्डको व्यवस्था गरिएको थियो । बसमा रहेको मेसिनमा कार्ड देखाएपछि सेवा निःशुल्क हुने व्यवस्था थियो । पहिले ना५ख ३१३८ नम्बरको ३२ सिटे बस मासिक एक लाख ३५ हजार भाडा तिर्ने गरी सञ्चालन गरिएकोमा पछि आफैंले बस किनेर सञ्चालनमा ल्याएका थिए । पहिले सञ्चालन गरिएको ब्लू बसलाई गैरकानुनी रुपमा निलो रङ लगाएको भन्दैं आलोचना भएको थियो । ७ लाख रुपैयाँमा किनेको बस पनि सधैं बिग्रेपछि हैरान भएर पछि बन्द भएको थियो ।

गत फागुन २१ को निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याएको रास्वपाले चितवनमा सुरु गरेको ब्लु बस सेवालाई देशभर विस्तार गर्ने घोषणा गरेको छ । घोषणा कार्यान्वयन गर्न आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो । पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिएका छन् । बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ । मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात पहिलो चरणमा साउन १ गतेदेखि बस सेवा सञ्चालन गरिनेछ ।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिने छ । चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछन् । जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

सरकारको तयारी राम्रै पनि होला । साझा यातायात आफैँमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । तर सरकारले साझा यातायालाई निलो बनाएर ब्लु बस संचालन गर्ने तयारी गरेपछि यसका पक्ष विपक्षमा टिप्पणी हुन थालेका छन् ।

समाजिक संजालमा पत्रकार पुनम पौडेलले साझा बसको रङ परिवर्तन गर्नु गलत भएको टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, ‘साझा बस भन्नासाथ साझा यातायातको हरियो बस आँखा अगाडि आउँछ । कुनै समय रवीन्द्र मिश्रले साझा पार्टी खोले र साझा शव्दमा दलको गन्ध आउन थाल्यो । साझाको हरियो बसमा भर्खरै खुलेको फुच्चे दलको गन्ध चढी हाल्न भ्याएको थिएन । यसैबीच स्वतन्त्र नाम जोडेर बनेको पार्टीको प्रचण्ड बहुमत पाएर बनेको सरकारले भने साझाका हरिया बसलाई निलो रंग पोतेर महिलाका लागि निःशुल्क चलाउने भएछ। उल्का महिलामैत्री देखाउन निःशुल्क बस चलाउने जस्ता बकमफुसे आइडिया सरकारलाइ कसले दिन्छ उनै जानुन् । लु उल्कै मन लागेको भए हरियै रंगका केही गाडीलाइ नेपाल सरकारको लोगो हालेर त्यस प्रयोजनका लागि छुट्याए भइहाल्थ्यो निलो रंग पोत्नु किन? निलो रंगको (जुन सतारुढ दलको आधिकारिक रंग हो)बस चलाउन मन भए पार्टीको कोषबाट किनेर चलाए भयो। राज्यकोषबाट गाडी चलाउने अनि रंग चाहिँ आफ्नो दलको पोत्ने?’

गोमा खनाल सामाजिक संजालमा लेख्छिन्, ‘अब हामी महिलाले पनि बुझौ महिलालाई निः शुल्कमा बस दिएर झन् कमजोर बनाउँदैछन् त्यसैले म त यो बस चढ्दिन अनि तपाईँहरू ?’

सामाजिक संजालमा सरला धमलाले महिलालाई दयाको पात्र बनाउन खोजिएको भन्दै यसको विरोधी गरेकी छन् । उनले भनेकी छन्, ‘सहमत परनिर्भर बनाउन लागेछन् महिलालाई सहभागी मात्र होइन अर्थपूर्ण सहभागी खोजेको दया होइन अधिकार खोजेको समावेशी भन्दा पनि सह–अस्तित्व खोजेको तर आज एस म्यान बनाउलान् जस्तो पो छ जताततै दयाको पात्र बनाएर महिलालाई निःशुल्क बस होइन आजको महिलालाई सविधानले दिएको अधिकारको सुनिश्चितता चाहिएको छ र आत्मानिर्भरताको साथ स–सम्मान बाच्ने अधिकार चाहिएको छ ।’

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता रामप्रसाद सापकोटा दीपशिखा बसको रंग मात्र फेरेर ‘ब्लु बस’ का नाममा नयाँ उपलब्धि देखाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । उनी लेख्छन्, ‘२०७३÷७४ सालमा तत्कालीन प्रधानमन्त्री कमरेड प्रचण्डले उद्घाटन गरेका साझा यातायातका ३० वटा नयाँ अशोक लेल्याण्ड बस आजसम्म नियमित सेवामा छन्। उद्घाटनपछि उहाँ स्वयं पुल्चोकदेखि सिंहदरबारसम्म साझा बसमै यात्रा गर्नुभएको थियो। अहिले तिनै बसको रंग मात्र फेरेर ‘ब्लु बस’ का नाममा नयाँ उपलब्धि देखाउने प्रयास भइरहेको छ। उखानै छ—’…गर्नेलाई भन्दा देख्नेलाई लाज।’ अब १०० दिनका १०० काममध्ये यहीलाई पनि एउटा उपलब्धि भनेर प्रचार गर्न मात्रै बाँकी रह्यो।’

कतिपयले त रास्वपालाई अब धरहरामा निलो रङ्ग लगाएर एउटा घण्टी झुण्ड्याउनु भन्दै व्यंग्यसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *