नेपालको व्यापार पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा छलफल

काठमाडौँ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको राजधानी ल्हासामा नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।

सांग्रिला होटलमा आयोजित कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रका जनसरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ प्रमुख अतिथि तथा नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला अध्यक्ष रहेका थिए । कार्यक्रममा सिचाङ सरकारका उच्च अधिकारी, चिनियाँ लगानीकर्ता, व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा ल्हासास्थित नेपाली व्यवसायीसहित ११३ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापार, पर्यटन र लगानीका अवसरबारे प्रस्तुति दिएका थिए भने सम्बन्धित विषयमा भिडियो प्रदर्शन पनि गरिएको थियो।

प्रमुख अतिथि चाओ पेङले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन नेपाली महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल चीनको विश्वासिलो मित्र राष्ट्र भएको बताए। उनले हालैको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप मजबुत बनेको उल्लेख गर्दै चिनियाँ लगानीकर्ता र पर्यटकलाई नेपालमा लगानी, व्यवसाय र भ्रमण गर्न आग्रह गरे। साथै, सिचाङ सरकारले नेपाली महावाणिज्यदूतावासलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रमले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे चिनियाँ सरकार र निजी क्षेत्रलाई जानकारी गराउन महत्वपूर्ण योगदान पुगेको बताए। उनले नेपाल एक–चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।

कार्यक्रमअघि महावाणिज्यदूत निरौला र कार्यकारी उपाध्यक्ष चाओ पेङबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटमा निरौलाले सीमा पूर्वाधार विकास, आयात–निर्यात तथा आवतजावतमा सहजीकरण, तिब्बतमा बसोबास गर्ने नेपालीका लागि भिसा र प्रवेश अनुमतिलाई सहज बनाउन तथा ल्हासास्थित सरस्वती मन्दिर र सिगात्सेस्थित भीमसेन मन्दिरको जीर्णोद्धारमा सहयोग गर्न अनुरोध गरेका थिए।

जवाफमा चाओ पेङले सीमा व्यवस्थापनमा सहयोग गर्न चीन तयार रहेको बताउँदै ऐतिहासिक सरस्वती र भीमसेन मन्दिरको जीर्णोद्धारका लागि पहल गर्ने तथा रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *