भिक्षुणी लक्ष्मीकराको जीवनकथा नेपालीमा सार्वजनिक

काठमाडाैँ । बौद्ध धर्मकी प्रसिद्ध सिद्धयोगिनी तथा न्युङ्ने साधनाकी प्रवर्तक मानिने भिक्षुणी लक्ष्मीकरा (गेलोङ्मा पाल्मो) को जीवनमा आधारित पुस्तक ‘भिक्षुणी लक्ष्मीकराको जीवनी’ नेपाली भाषामा अनुवाद भई सार्वजनिक गरिएको छ ।

लोसाङ तेन्दरद्वारा लिखित उक्त पुस्तकको नेपाली अनुवाद कोशिस लोब्साङ वाइबाले गरेका हुन् । आचार्य टीका शेर्पा र रत्न मङ्गलद्वारा सम्पादित  पुस्तकको लोकार्पण कार्यक्रम बुधबार थापागाउँस्थित मण्डला थिएटरमा आयोजना गरिएको हाे ।

कार्यक्रममा बौद्ध धर्मगुरु तथा विद्वान क्याब्जे शेर कोङ रिन्पोछे, डिगुङ काग्यु गुम्बाका अध्यक्ष याेगी साेनाम रिन्क्षेन, बाैद्धनाथ क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक माेहनकुमार तामाङ, खाण्डाे ल्हामाे, खेन्पाे काेन्छ्याेग नाेर्बु, मण्डला थिएटरका अध्यक्ष दयाहाङ राई, विकास देव याेञ्जन, बुद्धवचन अनुवाद समितिका अध्यक्ष आचार्य टीका शेर्पा र लाेचवा रत्न मङ्गललगायतका वक्ताहरूले भिक्षुणी लक्ष्मीकराको जीवन, साधना र बौद्ध धर्ममा उनले पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।

भिक्षुणी लक्ष्मीकरा, जसलाई तिब्बती परम्परामा गेलोङ्मा पाल्मोका नामले चिनिन्छ, महायान तथा वज्रयान बौद्ध परम्परामा अत्यन्त सम्मानित साधिका मानिन्छिन् । विशेषगरी न्युङ्ने साधनाको प्रवर्द्धन तथा करुणा साधनाको अभ्यासमा उनको योगदान महत्वपूर्ण रहेको विश्वास गरिन्छ ।

पुस्तक नेपाली भाषामा उपलब्ध भएपछि बौद्ध दर्शन, महिला साधना परम्परा तथा हिमाली बौद्ध संस्कृतिमा रुचि राख्ने पाठकहरूलाई महत्त्वपूर्ण अध्ययन सामग्री प्राप्त हुने अपेक्षा गरिएको छ । साथै, महिला आध्यात्मिक साधकहरूको योगदानबारे नेपाली भाषामा सामग्री अभाव रहेको अवस्थामा यस कृतिले थप अध्ययन र अनुसन्धानलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा बौद्ध धर्मका अनुयायी, अध्येता, साहित्यप्रेमी तथा सर्वसाधारणकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *