गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता

काठमाडौं । गृहमन्त्री सुदन गुरुङविरुद्ध हिरासत कक्षमै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा मानव अधिकार हनन गरेको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो । अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोग पुगेर उजुरी दर्ता गराएका हुन् ।

आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिइ घटनाको सत्यतथ्य जाँचबुझ गर्न माग गरिएको छ । गत जेठ १९ गते काठमाडौंस्थित सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत कक्षमा गृहमन्त्री गुरुङ नेतृत्वको टोली अनधिकृत रूपमा प्रवेश गरेको र हिरासतमा रहेका व्यक्तिमाथि मानसिक दबाब, गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ ।

निवेदकहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी सीमा विवादका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला पक्राउ परेका व्यक्तिहरूमाथि हिरासतभित्रै दुव्र्यवहार भएको आरोप लगाएका छन् ।

उजुरीमा संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, न्यायसम्बन्धी अधिकार तथा यातनाविरुद्धको हक उल्लंघन भएको जिकिर गरिएको छ। साथै गृहमन्त्रीजस्तो उच्च पदस्थ व्यक्तिमाथि आरोप लागेकाले प्रमाण नष्ट हुन सक्ने, सीसीटीभी फुटेज गायब पारिन सक्ने तथा पीडितमाथि थप दबाब पर्न सक्ने आशंका व्यक्त गर्दै आयोगलाई तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ।

निवेदनमा घटनाको निष्पक्ष छानबिन, घटनास्थलको अनुगमन तथा पीडितहरूको मानव अधिकार संरक्षणका लागि तत्काल आवश्यक कदम चाल्न आयोगसँग माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *