सरकारको काम हेर्दा हामीले पाँच वर्ष नै कुर्नुपर्छ जस्तो लाग्दैनः अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन् ।

शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले भविष्यमा देशको नेतृत्व गर्ने दाबी गर्दै हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धितर्फ लैजाने एकमात्र पार्टी आफ्नो भएको बताए।

उनले भने, ‘तपाईँहरू ढुक्क भएर बस्नुस्। उज्यालो नेपाल पार्टीले आगामी दिनमा यो देशको नेतृत्व गर्नेछ। हरित क्रान्ति गरेर देशलाई समृद्ध बनाउने पार्टी यही हो। पार्टी हराउँछ कि भन्ने कुनै निराशा लिनु पर्दैन ।’
आगामी स्थानीय तह निर्वाचनमा पार्टीको सशक्त उपस्थिति रहने उल्लेख गर्दै घिसिङले त्यसपछिको निर्वाचनबाट उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने दाबी गरे।

वर्तमान सरकार पाँच वर्ष टिक्ने भनिए पनि पाँच महिनामै अस्थिरताको संकेत देखिएको उनको टिप्पणी थियो।

‘अहिले पाँच वर्षको सरकार भनिएको छ, तर पाँच महिनामै सरकार टिक्ने अवस्था कमजोर देखिइसकेको छ। हामीले पाँच वर्ष नै कुर्नुपर्छ जस्तो लाग्दैन। त्यसैले उज्यालो नेपाल पार्टी अब देशको विकल्पका रूपमा स्थापित हुँदै अघि बढिरहेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *