काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन् ।
शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान’ को सामूहिक हस्ताक्षर कार्यक्रममा कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको बताइन् ।
उनले भनिन्, ‘हामीलाई संवैधानिक राजसंस्था चाहिन्छ भनेर बुझेको, बोलेको मैले बीपी बाबाट नै सिकेको हो। सुरु–सुरुमा उहाँका विचार समाजवाद वा कम्युनिज्मतर्फ झुकेका थिए। तर समयसँगै मुलुकको परिस्थिति, भूगोल र देशको भविष्यलाई मूल्याङ्कन गर्दै उहाँ यो निष्कर्षमा पुग्नुभयो कि नेपालका लागि राजसंस्था अत्यन्त जरुरी छ।’
उनका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतन्त्रको प्रतीकका रूपमा व्याख्या गरेको थियो।
‘उहाँले राजा र मेरो घाँटी एउटै दरबारको मियाँमा छ भन्नुभएको थियो। राजसंस्था लोकतन्त्रको प्रतीक हो। त्यो कुरा त्यतिबेला पनि उत्तिकै महत्त्वपूर्ण थियो, अहिले झन् बढी महत्त्वपूर्ण भएको छ,’ उनले भनिन्।
