काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन साहले चितवन पुगेर आफ्नो राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरेर राम्रो काम गरेको बताएका छन् ।
पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्रीले आफ्नो राष्ट्रिताप्रति आशंक नगर्न आग्रह गरेका थिए । यसअघि कतिपयले उनीमाथि आशंका गरेका थिए ।
प्रधानमन्त्रीको भनाईपछि एमाले नेता रिजालले सामाजिक संजालमार्फत भनेका छन्, ‘प्रधानमन्त्री बालेन साहले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न सार्वजनिक रुपमै आग्रह गर्नुभएछ । मलाई मेरो देशको प्रधानमन्त्रीको राष्ट्रियताप्रति रत्तिभर शंका छैन । तर, संसद्मा जे बोल्नुभएको थियो, त्यसबाट उहाँ आफैँले शंका उब्जाउनुभएको थियो । चितवन पुगेर स्पष्ट पार्नुभएछ । राम्रै भयो । संसद्बाटै स्पष्ट पार्दा झन् राम्रो हुन्थ्यो ।’
नेता रिजालले रास्वपा पाँच वर्षका लागि सरकारमा गएकाले उत्तर–दक्षिण दुबैतिरका छिमेकीलाई राम्ररी मिलाउन सुझाव दिएका छन् ।
उनले भनेका छन्, ‘जनताको प्रचण्ड बहुमत पाउनुभएको छ, तपाईंप्रति नागरिकको ठूलो आशा छ । ‘३५ वर्षमा अरुले केही गर्न सकेनन्’ भन्ने ‘न्यारेटिभ’का साथ स्पष्ट बहुमतसहित पाँच बर्षका लागि सत्तामा आउनुभएको छ । उत्तर–दक्षिण दुबैतिरका छिमेकीलाई राम्ररी मिलाउनूस् । थाँती रहेका विषयहरुमा ठोस उपलब्धि हासिल गर्नूस् । यति गर्न सक्दा आज तपाईंप्रति शंका र प्रश्न गर्नेहरु नै भोलि प्रशंसा गर्न अग्रपंक्तिमा उभिनेछन् । अन्यथा, धेरै बोल्नु वा कम बोल्नु, कुनै देशको भ्रमण गर्नु वा नगर्नु अथवा कुनै विदेशीलाई भेट्नु वा नभेट्नुले देशका लागि कुनै अर्थ राख्दैन ।’
