पार्टी नेतृत्वको कार्यशैलीप्रति राप्रपाका तीन पूर्वअध्यक्षको असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका तीन जना पूर्वअध्यक्षले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्वअध्यक्षहरु कमल थापा, पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले यस्तो बताएका हुन् । विज्ञप्तिमा पार्टीभित्र लामो समयदेखि संस्थागत बेथिति, सङ्कुचित सोच, विधि–विधानविपरीतका गतिविधि र जथाभावी पक्षपातपूर्ण कारबाही बढेको आरोप लगाइएको छ।

अनुशासन कायम गर्ने नाममा पूर्वाग्रह र प्रतिशोधका आधारमा नेता–कार्यकर्तामाथि कारबाही भइरहेको भन्दै उनीहरूले यसमा सुधार ल्याउन साङ्केतिक विरोधस्वरूप बैठकमा अनुपस्थित भएको स्पष्ट पारेका छन्।

त्यस्तै, केन्द्रीय समितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने परिपाटीप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्। पार्टीभित्र बढ्दो निराशा र अविश्वासको वातावरण अन्त्यका लागि नेताहरूले पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न सुझाव दिएका छन्।

तर, यस्ता रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टीका लागि जीवन समर्पण गरेका पूर्वअध्यक्षहरूमाथि नै जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु अत्यन्त दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *