काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रास्वपाले राजावादीहरुको पनि भोट पाएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा उनले बालेनले राजा ल्याउँछन् भनेर राजावादीहरुले पनि भोट दिएको बताएका हुन् ।
उनले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिने मान्छे पनि छन् । जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्ने छ ।’
उनले प्राप्त गरेको जनसमर्थन परम्परागत राजनीतिक संगठन र पैसाको बलमा नभइ परिवर्तनको चाहनाबाट आएको बताएका छन् । पछिल्लो निर्वाचनको परिणामले परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिएको उल्लेख गरे ।
उनले भने, ‘यो मतपरिणाम हेर्दाखेरी कुन राजनीतिक दर्शनले, कुन संगठनले काम गर्यो भन्ने प्रश्न उठ्छ । यो यस्तो निर्वाचन थियो जहाँ राजनीतिक संगठन र पैसाले मात्र काम गरेन । रास्वपाले सबै वडा र गाउँपालिकामा संगठन बनाएको पनि थिएन ।’ उनले मुलुकको समस्या केवल विगतका नेताहरूमा मात्र सीमित नभएको जिकिर गर्दै संविधान र वर्तमान संवैधानिक व्यवस्थामा पनि सुधारको आवश्यकता रहेको बताए।
उनले राष्ट्रिय सहमतिको आधारमा संविधानमा आवश्यक परिवर्तन र सुधार गर्नुपर्ने धारणा राख्दै राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरे।
