हामी कसैलाई हराउन होइन, देशलाई जिताउन आएका हौँः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नयाँ अध्याय लेख्न आएको पार्टी भएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै वाग्लेले निराशालाई चिर्ने गरी रास्वपा अघि बढ्ने बताएका हुन् ।

उनले भने, ‘हामी दलको महाधिवेशनमा मात्रै आएका छैनौँ । नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएका छौँ । निराशाविरुद्ध सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्न आएका हौँ । परिवर्तनको चाहना विद्रोहमा बदलियो । अब हामी कसैलाई हराउन होइन, देशलाई जिताउन आएका हौँ ।’

उनले आफ्नो पार्टी लोकतान्त्रिक आवाज बन्न सकेको दाबी गरे । उनले भने, ‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो । जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्कन थाल्यो त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो । त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा ।’

यस्तो छ सम्बोधनको पूर्णपाठ

आदरणीय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताज्यू, विभिन्न राजनीतिक दलका नेतागण, प्रथम महाधिवेशनका प्रतिनिधि एवं यो ऐतिहासिक क्षणलाई आशाका साथ हेरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू ।

आज असार ७ गते, पार्टीको चौथो वार्षिकोत्सव । हामी केवल एउटा दलको महाधिवेशनमा भेला भएका छैनौँ । हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी हो । कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी होइन । एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तिब्र आकांक्षा, यसैको राजनीतिक अभिव्यक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी ।

जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो, र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हाे राष्ट्रिय स्वतन्त्र पार्टी ।

विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याए । संविधान आयो । समावेशिताको आधार तयार भयो । यी उपलब्धिहरूको हामी सम्मान गर्छौं । तर लोकतन्त्रको संस्थागत गुणस्तर भने अपेक्षित रूपमा विकसित हुन सकेन ।

निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो । संविधान बन्यो, संस्थाहरू बलिया भएनन् । राज्यकाे आकार विस्तार भयो, राज्यको क्षमता बढेन । अधिकार बढे, तर सार्वजनिक सेवाको गुणस्तर बढेन । आर्थिक गतिविधिहरूको स्वरूप फेरिए, तर मर्यादित रोजगारीका अवसर फैलन सकेनन् । यही अन्तरविरोधबाट आजको संकट पैदा भएको हो ।

प्रिय साथीहरू,

नेपालको समस्या स्रोतको अभाव मात्र होइन । नेपालको समस्या सम्भावनाको अभाव पनि होइन । हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो । राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो ।

व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो । राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो । त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन ।
यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो ।

हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ । भागवण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ । नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ ।

साथीहरू,

हामी आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ । त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ । आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ ।

आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौँ । हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ । केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ । केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्छ ।

आजको महाधिवेशनको मूल प्रश्न यही हो – रास्वपाले नेपालको भविष्य कस्तो देख्छ ?

हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ, जहाँ निर्वाचनले सरकार बनाओस्, तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्; जहाँ बहुमतले शासन गरोस्, तर अल्पमत पनि सम्मानित रहोस् ।

हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्; जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस् ।

हामी यस्तो समन्यायिक समाज चाहन्छौँ, जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गरोस् ।

हामी यस्तो सक्षम राज्य चाहन्छौँ, जसले नागरिकमाथि शासन नगरोस्, नागरिकको सेवा गरोस्; जसले अनावश्यक दुःख नदियोस्, तर आवश्यक पर्दा भरोसायोग्य साथ दिओस् ।

हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नहोस्; जहाँ श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाओस् ।

यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन, उद्यमीले बिना भय लगानी गरुन, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस् ।

हामी यस्तो आत्मविश्वासी नेपाल चाहन्छौँ, जसले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा नबसोस्; जसले आफ्ना नागरिकको क्षमता, आफ्ना संस्थाको बल र आफ्ना सपनाको साहसमा भरोसा गर्दै २१औँ शताब्दीको अग्रगामी राष्ट्रका रूपमा आफूलाई स्थापित गरोस् ।

साथीहरू,

इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ । हाम्रो पुस्ताले त्यो अवसर पाएको छ । अब प्रश्न केवल यति हो- के हामी यो दुर्लभ अवसरकाे उपयोग गरौँला? के हामी नेपाललाई नयाँ दिशा दिने पुस्ताका रूपमा इतिहासमा चिनिन सकौँला ? म विश्वस्त छु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम होइन । यो नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्नेछ ।

यो निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ, र बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हो ।

आउनुहोस्, निराशालाई आशामा बदलौँ,आक्रोशलाई निर्माणमा बदलौँ, र विद्रोहलाई रूपान्तरणमा बदलौँ ।
नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा अगाडि बढौँ । यो लामो यात्राका प्रारम्भिक पाइला यहीँ चितवनबाटै चालौँ ।

धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *