स्विट्जरल्यान्डको सहज जित

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डले सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा १० खेलाडीमा समेटिएको बोस्निया एण्ड हेर्जेगोभिनालाई ४-१ गोलले हराउँदै स्विट्जरल्यान्डले नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

लस एन्जल्स स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन जोहान मान्जाम्बीले दुई गोल गर्दा रुबेन भार्गास र ग्रानिट जाकाले समान एक/एक गोल थपे । बोस्नियाको लागि इर्मिंन माह्मिकले सान्तवना गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औँ मिनेटमा मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।

८० औँ मिनेटमा तारिक मुहारेमोभिक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोस्निया एण्ड हेर्जेगोभिना १० खेलाडीमा समेटिएको थियो । चार मिनेटपछि भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । ९० औँ मिनेटमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३-० गोलको अग्रता दिलाए ।

इन्जुरी समयको तेस्रो मिनेटमा माह्मिकले बोस्नियाको लागि सान्तवना गोल गरे । यस्तै इन्जुरी समयकै सातौँ मिनेटमा जाकाले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै स्विट्जरल्यान्ड २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट १ अंक जोडेको बोस्निया तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *