काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि आज विभिन्न ब्रान्डका छ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गरेको छ ।
निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो ।
वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ ।
आइतबार उपत्यकाका थप सात बिक्री केन्द्रबाट ग्यास बिक्री गरिने
निगमले आइतबार काठमाडौँ उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्रीवितरण गर्ने जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् ।
त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु; राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया; नयाँबजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्रीवितरण गरिने निगमले जनाएको छ ।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ । बिक्रीवितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना बिक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ । साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्नसक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
