विश्वकपमा अमेरिकाको शानदार शुरुवात

एजेन्सी । फिफा विश्वकप २०२६ मा अमेरिकाले शानदार शुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा पाराग्वेलाई ४-१ गोलले हराउँदै अमेरिकाले विश्वकपमा विजयी शुरुवात गरेको हो ।

लस एन्जल्स स्टेडियममा भएको खेलमा अमेरिकालाई जित दिलाउन फोलारिन बालोगुनले दुई गोल गर्दा जिओभानी रेयानाले एक गोल थपे । अमेरिकाले एक गोल उपहार पाएको हो । पाराग्वेको लागे मौरीकोले एक गोल फर्काए । खेलको सातौँ मिनेटमा डामियन बोबाडिल्लाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अमेरिकाले खेलमा अग्रता लिएको थियो ।

३१ औँ मिनेटमा पुलिसिसको पासमा बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । ७३ औँ मिनेटमा मौरीकोले गोल गर्दै पाराग्वेलाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा रेयानाले गोल गर्दै अमेरिकालाई ४-१ गोलको शानदार जित दिलाएका हुन् ।

जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले तीन अंक जोडेको छ ।

आज राति समूह ‘बी’ अन्तर्गत हुने खेलमा कतार र स्विट्जरल्याण्ड भिड्दैछन् । खेल राति १२:४५ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *