एजेन्सी । फिफा विश्वकप २०२६ मा दक्षिण कोरियाले विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।
गुडालाजारा स्टेडियममा भएको खेलमा दक्षिण कोरियालाई जित दिलाउन ह्युन गयु ओह र इन बेओम ह्वागले समान एक/एक गोल गरे । चेक रिपब्लिकको लागि लाडीस्लाव क्रेज्सीले एक गोल फर्काए । खेलमा १-० गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरियाले जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औँ मिनेटमा क्रेज्सीले गोल गर्दै चेक रिपब्लिकलाई शुरुवाती अग्रता दिलाएका थिए । ६७ औँ मिनेटमा ह्वागले गोल गर्दै दक्षिण कोरियालाई १-१ गोलको बराबरीमा ल्याए । १३ मिनेटपछि ह्युन गयुले गोल गर्दै दक्षिण कोरियालाई २-१ गोलको अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा दक्षिण कोरिया २-१ गोलले विजयी भएको हो ।
जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ ।
