अमेरिका इरान सम्झौतामा थप संशोधन खोज्दै

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच प्रस्तावित युद्धविराम तथा आणविक सम्झौतामा थप संशोधन गर्न आग्रह गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार संशोधनका विषयहरू मुख्यतः होर्मुज जलडमरूमध्य र युरेनियम हटाउने व्यवस्थासँग सम्बन्धित छन् ।

सिबिएस न्यूजका अनुसार ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूले शुक्रबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा बैठक गर्दै इरानसँगको युद्धविराम लम्ब्याउने विषयमा ‘अन्तिम निर्णय’ गर्ने प्रयास गरेका थिए । तर बैठकपछि आगामी कदमबारे स्पष्ट निष्कर्ष निस्कन सकेन ।

शनिबार पहिलो पटक सार्वजनिक गरेको सम्झौताको पछिल्लो मस्यौदामा ६० दिने हिंसा रोक्ने प्रस्ताव, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने आह्वान तथा इरानको आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्ने ढाँचा समावेश गरिएको बताइएको छ ।

सम्झौता अघि बढेमा इरानमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्ने तथा रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्तिमा पहुँच दिन सकिने सम्भावनासमेत रहेको जनाइएको छ ।

इरानका प्रमुख वार्ताकारले भने तेहरानले आफ्ना अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *