इजरायलद्वारा लेबनानको ऐतिहासिक ब्यूफोर्ट किल्ला कब्जा

बीबीसी । इजरायली सेनाले दक्षिणी लेबनानस्थित रणनीतिक महत्वको ब्यूफोर्ट किल्ला कब्जा गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई हेजबुल्लाहविरुद्धको सैन्य अभियानमा ‘निर्णायक मोड’ भएको बताएका छन् ।

इजरायली स्थल सेना लिटानी नदीपारि थप गहिराइसम्म अघि बढिरहेका बेला उक्त किल्ला कब्जा गरिएको हो । इजरायलले दक्षिणी लेबनानका थप क्षेत्र खाली गर्न स्थानीय बासिन्दालाई चेतावनीसमेत दिएको छ ।

आईडीएफका प्रवक्ताका अनुसार ठूलो संख्यामा इजरायली स्थल सैनिक अभियानमा सहभागी छन् र कारबाही थप क्षेत्रतर्फ विस्तार भइरहेको छ । ‘हेजबुल्लाहका संरचना वा युद्ध सामग्री नजिक रहनु ज्यानका लागि जोखिमपूर्ण हुन्छ,’ उनले भने ।

इजरायलको पछिल्लो सैन्य विस्तारको बेलायत, फ्रान्स र जर्मनीले आलोचना गरेका छन् । बेलायती विदेशमन्त्री इभेट कुपरले लेबनानमा भइरहेको सैन्य कारबाहीले सर्वसाधारणको ज्यान लिएको, पूर्वाधार ध्वस्त पारेको र कूटनीतिक सम्भावना कमजोर बनाएको बताउँदै तत्काल रोक्न आग्रह गरेकी छन् ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलमाथि ‘सामूहिक दण्ड’ को नीति अपनाएको आरोप लगाएका छन् । फ्रान्सले इजरायली कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह गरेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले ‘दक्षिणी लेबनानमा भइरहेको ठूलो सैन्य विस्तारको कुनै औचित्य नभएको’ बताएका छन् । करिब ९ सय वर्षअघि निर्माण गरिएको ब्यूफोर्ट किल्ला लिटानी उपत्यकामाथि अवस्थित छ र ऐतिहासिक रूपमा रणनीतिक महत्व राख्दै आएको छ । इजरायलले सन् १९८२ को पहिलो लेबनान युद्धका क्रममा पनि उक्त किल्ला कब्जा गरेको थियो ।

किल्ला कब्जापछि नेतन्याहूले ‘हामीले भयको अवरोध तोडेका छौँ र सबै मोर्चामा सक्रिय रूपमा अघि बढिरहेका छौँ’ भन्दै हेजबुल्लाहको नियन्त्रण रहेका क्षेत्रमा आफ्नो पकड अझ विस्तार गर्ने बताएका छन् ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले किल्लामाथिको नियन्त्रण सीमावर्ती इजरायली समुदायको सुरक्षाका लागि महत्वपूर्ण भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *