राष्ट्र विरोधी अभिव्यक्ति दिने व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैनः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्र विरोधी अभिव्यक्ति दिने व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् ।

प्रधानमन्त्री बालेन साहले नेपालले भारतको भूमि मिचेको बताएपछि खनालको यस्तो अभिव्यक्ति आएको हो । उनले भनेका छन्, ‘उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको छ । राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन । साथै, यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म विरोध र भत्र्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह गर्दछु । प्रधानमन्त्रीका यी राष्ट्रघाती अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन पनि म सम्माननीय सभामुख समक्ष आग्रह गर्दछु ।’

खनालले प्रधानमन्त्रीले विदेशीहरूको चाकडी गर्ने हिसाबले अभिव्यक्ति दिएको आरोप लगाए । उनले भनेका छन्, ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो । हामी नेपाली जनता युगौँ देखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो । उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ? ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *