सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

अमरगढी (डडेल्धुरा) । सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ ।

डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ ।

त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा आयोजक डडेलधुरा ३० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ । डडेलधुराले ६ स्वर्ण, सात रजत र १७ कास्य पदक जित्यो । बैतडी चौथो, दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे । प्रतियोगिताभर कुल २३२ पदक वितरण गरिएको थियो । जसमा ६६ स्वर्ण, ६६ रजत र १०० कास्य पदक समावेश रहेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्र युवाको प्रतिभा प्रस्फुटन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउँदै प्रदेश सरकारले खेलकुद विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यही जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ जिल्लाका खेलाडीबीच एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराते, भलिबल, कबड्डीलगायत खेलमा प्रतिस्पर्धा भएको थियो । छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ शिल्डका लागि सिफारिस गरिनेछ ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना तथा खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *