एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपाल पराजित

काठमाडौँ । एसियन गेम्स महिला क्रिकेट छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । शनिबार दिउँसो भएको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग दुई विकेटले पराजित भएको हो।

मलेसियाको बायोमास क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । मलेसियाको जितमा एल्सा हन्टरले २४ बलमा १० चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाइन् ।

नेपालका लागि रिया शर्माले तीन तथा मनीषा उपाध्याय र रुबिना क्षेत्रीले समान दुई र सीता राना मगरले एक विकेट लिइन् ।

त्यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ४१ बलमा ५ चौकाको सहयोगमा नट आउट ४६ रन बनाइन् । यस्तै कविता कुवँर १५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाउँदा रुवि पोद्दार १७ तथा पूजा महतो १५ रनको योगदान गरे ।

मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले दुई तथा माहिरा इस्माली र आइसा एलिसाले समान एक विकेट लिइन् ।

जितसँगै मलेसिया एसियन गेम्सका लागि छनोट भएको छ । अब नेपालले तेस्रो स्थानको लागि हुने खेलमा आइतबार चीनको सामना गर्नेछ । उक्त खेल जितेको खण्डमा नेपाल एसियन गेम्समा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *