एजेन्सी । राजस्थान रोयल्स आईपीएल २०२६ को क्वालिफायर–२ मा प्रवेश गरेको छ । बुधबार राति मुल्लानपुरमा भएको खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै उपाधि यात्रालाई कायम राखेको हो ।
पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल योगफल तयार गरेको थियो। टोलीका लागि किशोर ब्याटर भैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाए । उनले ५ चौका र १२ छक्का प्रहार गर्दै हैदराबादका बलरमाथि दबाब सिर्जना गरेका थिए । यशस्वी जैसवालले २९ तथा ध्रुव जुरेलले २१ बलमा ५० रनको आक्रामक इनिङ्स खेले ।
राजस्थानले पावरप्लेमै ८० रन जोड्दै खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । सूर्यवंशी र जैसवालबीच पहिलो विकेटका लागि १२५ रनको साझेदारी बनेपछि हैदराबाद दबाबमा परेको थियो ।
जितको लागि २ सय ४४ रनको लक्ष्य पछ्याएको हैदराबादले सुरुआतमै विकेट गुमायो । अभिषेक शर्मा शून्यमै आउट भए भने ट्राभिस हेड १७ रनमा पेभिलियन फर्किए । इशान किशनले ११ बलमा ३३ रन बनाउँदै केही आशा दिलाए पनि टोलीले लगातार विकेट गुमाइरह्यो । नितिश रेड्डीले ३८ तथा सलिल अरोराले ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
राजस्थानका लागि जोफ्राआर्चरले ३ विकेट लिएर हैदराबादको शीर्षक्रम ध्वस्त पारे । नन्द्रे बर्गर, रविन्द्र जडेजा र सुषान्त मिश्राले समान २–२ विकेट लिए। हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो ।
प्लेयर अफ द म्याच बनेका सूर्यवंशीले टोलीको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् । राजस्थानले अब क्वालिफायर–२ मा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
