काठमाडौँ । एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । छनोट आउँदो आइतवार जेठ १७ गतेदेखि २६ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ । छनोटमा नेपाल समूह ‘ए’ मा छ ।
यो समूहमा नेपालसँगै थाइल्यान्ड र इन्डोनेशिया छ । छनोटमा हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा पुग्ने टोली एशियन गेम्समा छनोट हुनेछन् । टी–२० फम्र्याटमा हुने एशियन गेम्स क्रिकेट आउँदो सेम्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानमा आयोजना हुनेछ ।
१० वटा टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र आयोजक जापान स्वतः छनोट भइसकेका छन् ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम रहेका छन् ।
