तेहरान। इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको अन्डिशे सहरस्थित अर्गावन कमर्शल कम्प्लेक्समा भएको भीषण आगलागीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
इरानको सरकारी टेलिभिजन आईआरआइबीका अनुसार करिब २५० भन्दा बढी व्यापारिक एकाइ सञ्चालनमा रहेको उक्त बहुउद्देश्यीय सपिङ सेन्टरमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ।
इरानी विद्यार्थी समाचार एजेन्सी (आईएसएनए) ले एन्डिशे सहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समयअनुसार बेलुका ४ः४० बजे आगलागी सुरु भएको जनाएको छ। भवनको बाहिरी भागमा प्रयोग गरिएको मिश्रित निर्माण सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको उनले बताएका छन्।
उद्धार तथा राहत कार्य जारी रहेको छ। आईएसएनएका अनुसार इरान रेड क्रिसेन्ट सोसाइटीका टोलीहरू तालिम प्राप्त कुकुरसहित घटनास्थलमा परिचालन गरिएका छन् र सम्भावित थप फसेकाहरूको खोजी भइरहेको छ।
