काठमाडौं । राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोले एनएसजेएफ युवा वर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा भएको २२ औं एनएसजेफ पल्सर स्पोर्टस अवार्ड उनले अन्तर्गत युवा वर्ष खेलाडीको अवार्ड जितेकी हुन् ।
पूजाले एथलेटिक्स अजय बीके, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङलाई पछि पारेकी हुन् ।
नेपाल महिला यू-१९ क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपमा पुर्याउँदा नेपालको कप्तानी गरेकी थिइन् ।
पारा तेक्वान्दोका कविराज नेगी लामा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनको नेतृत्वमा पलेशा गोवर्धनले पेरिस ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।
यस्तै एथलेटिक्सकी प्रभा आङ्दम्बेले ‘पारा एथलिट अवार्ड’ प्राप्त गर्दा ‘स्पेशल अवार्ड’ पोखराका तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङले पाएका छन् । हङकङलाई कर्मथलो बनाएर नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको मञ्चले जनाएको छ ।


