अब कर्मचारीको सरुवा डिजिटल प्रणालीमा, अन्य माध्यमबाट प्राप्त हुने निवेदनमाथि कुनै कारबाही नहुने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ । अब आवेदनदेखि निर्णयसम्मको सम्पूर्ण प्रक्रिया अनलाइनबाट हुनेछ ।

डिजिटल प्रणालीमा कर्मचारीको प्रोफाइल, अनलाइन आवेदन, प्रोसेस ट्रयाकिङ, स्वचालित सरुवा पत्र तथा निर्णय २४ घण्टाभित्र वेबसाइटमा सार्वजनिक हुने व्यवस्था रहनेछ । यो प्रणालीले सरुवा प्रक्रियालाई थप पारदर्शी, छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै कर्मचारीलाई सहज तथा विश्वासयोग्य सेवा प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

‘मन्त्रालयबाट सम्पादन हुँदै आएको सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरेको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘अनलाइन प्रणालीमार्फत मात्र सरुवासम्बन्धी कार्य सञ्चालन गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको छ । अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै कारबाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *