‘विभाजित हुँदा मुलुकले कस्तो मूल्य चुकाउनुपर्छ कांग्रेसले सोचोस्’

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली काँग्रेसलाई आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझकासाथ समाधान गर्न सुझाव दिएका छन् ।

शनिबार बिहान सामाजिक संजालमार्फत ज्ञवालीले लोकतान्त्रिक प्रणालीमा प्रमुख दलहरुमा बिग्रह आउँदा मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने भएकाले त्यसमा ध्यान दिन कांग्रेसलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखे भोगेका छौँ– २०५४ मा भएको नेकपा (एमाले) विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो भन्ने तथ्यका रूपमा, र २०५९ मा भएको नेपाली काँग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थका रूपमा । त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त हो । आशा गरौँ– लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गंभीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ ।’

कांग्रससमा अहिले नियमित कि विशेष महाधिवेशनले पार्टी विभाजनको डिलमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन गर्ने अडानमा छन् भने देउवा वैशाखमा गर्ने पक्षमा छन् ।

शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेका छन् । तर महामन्त्रीद्वयले यही पुस अन्तिम साता विशेष महाधिवेशन गर्ने अडान लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *