काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय गरेको भए त्यो गम्भीर भूल भएको बताएका छन् ।
पार्टीका निवर्तमान उपसभापति डा. स्वर्णिम वाग्लेको प्रतिवेदनमा प्रदेश खारेज गर्ने विषय उल्लेख भएपछि भट्टराईको यस्तो भनाई आएको हो ।
भट्टराईले भनेका छन्, ‘नयॉं सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुनेछ । पहिलो त विधिको हिसाबले एकातिरआफ्नै नेतृत्वको सकारले ’संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय वीचमा ठूलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्नसक्छ। दोश्रो, हाम्रो जस्तो जातीय÷राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानीपूर्ण संघर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमति सहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द र अशान्ति सिर्जना गर्नेछ। जुन कसैको पनि हितमा हुनेछैन।’
उनले रास्वपालाई संविधान संशोधनवारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासनतिर केन्द्रित हुन सुझाव दिएका छन् । उनले भनेका छन्, ‘नदुखेको कपाल डोरी लगाएर दुखाउनु’ सट्टा संविधान संशोधनवारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ’चूपचाप सुशासन र विकास’ तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी !’
