साउदी लिगमा अल नासरको विजयी यात्रा जारी

एजेन्सी । साउदी प्रो लिगमा अल नासरले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ । शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको नेओम एससीलाई ३-१ गोलले हराउँदै अल नासरले लिगमा लगातार आठौँ जित निकालेको हो ।

किङ खालिद स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जोए फेलिक्स र गाब्रियलले समान एक/एक गोल गरे । नेओमको लागि अहमेद अब्दुले एक गोल गरे । खेलको ४७ औँ मिनेटमा गाब्रियलले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा लुसिनो रोद्रिगेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेओम १० खेलाडीमा समेटिएको थियो । ६५ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाएका थिए ।

८४ औँ मिनेटमा अब्दुले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर दुई मिनेटपछि फेलिक्सले गोल थप्दै अल नासरलाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै अल नासर ८ खेलबाट २४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १३ अंक जोडेको नेओम सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *