केप भर्डेलाई हराउँदै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा पुगेको छ । शनिवार बिहान भएको अन्तिम ३२ को खेलमा केप भर्डेलाई अतिरिक्त समयमा ३-२ गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम १६मा इजिप्टसँगको भेट पक्का गरेको हो ।

मियामी स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र लिसान्द्रो मार्टिनेजले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । केप भर्डेको लागि सिड्नी लोप्स काब्राल र डेरोए डुआर्टेले समान एक/एक गोल गरे । खेलको ३२ औँ मिनेटमा मार्टिनेजको पासमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

५९ औँ मिनेटमा डुआर्टेले गोल गर्दै केप भर्डेलाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९२ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलको अग्रता दिलाएका थिए । १ सय ३ औँ मिनेटमा काब्रालले गोल गर्दै केप भर्डेलाई फेरी २-२ गोलको बराबरीमा ल्याए ।

१ सय ११ औँ मिनेटमा डीने बोर्गेसले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले खेलमा ३-२ गोलको अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना ३-२ गोलले विजयी भएको हो ।

जितसँगै अर्जेन्टिना अन्तिम १६ मा पुग्दा केप भर्डे प्रतियोगिताबाट बाहिरिएको छ । अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टको सामना गर्नेछ । इजिप्टले गएराति भएको अन्तिम ३२ को खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *