काठमाडौँ । हङकङ सिक्सेस प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा युएईसँग ४३ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
जितको लागि १ सय ३० रनको विजय लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ४ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो । नेपालको लागि मोहम्मद आदील अलामले सर्वाधिक ३२ रन बनाए । उनले १२ बलमा चार छक्का र एक चौका प्रहार गरे । यस्तै सन्दिप जोराले ३१ रन बनाउँदा बासिर अहमदले ८, लोकेश बमले ७, र रसिद खानले ६ रनको योगदान गरे ।
युएईको लागि मोहम्मद फारुकले एक ओभरमा १५ रन दिएर दुई विकेट लिँदा निलासन केसवानी र साघिर खानले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ६ ओभरमा १ सय २९ रन बनाएको थियो । युएईको लागि अनि निलासन केस्वानीले ७३ रन बनाए । उनले १५ बलमा १० छक्का र तीन चौका प्रहार गरे । यस्तै जाहिद अलीले ३० र मोहम्मद अर्फानले १६ रन बनाए ।
नेपालको लागि रसिद खानले दुई ओभरमा ३६ रन दिएर दुई विकेट लिँदा रुपेश सिंह र लोकेश बमले समान एक/एक विकेट लिए ।
यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै युएई ३ खेलबाट चार अङ्क जोड्दै बलतर्फ दोस्रो स्थानमा उक्लिदा नेपाल तीन खेलबाट दुई अङ्क जोड्दै तेस्रो स्थानमा झरेको छ ।
