काठमाडौँ । हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगितामा नेपालले तेस्रो हार बेहोरेको छ। शनिबार बिहान भएको खेलमा श्रीलंकासँग तीन विकेटले पराजित हुँदै नेपालले प्रतियोगितामा खराब प्रदर्शनलाई निरन्तरता दिएको हो ।
जितको लागि ८७ रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले ५.३ ओभरमा ३ विकेटको क्षतिमा ८९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । श्रीलंकालाई जित दिलाउन धनञ्जय लक्षणले ३६ रन बनाउँदा निमेश बिमुक्थिले ३३ रन बनाए ।
नेपालको लागि रुपेश सिंहले दुई विकेट लिँदा लोकेश बमले एक विकेट लिए । यसअघि हङकङस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपालले ६ ओभरमा चार विकेटको क्षतिमा ८६ रन बनाएको थियो । नेपालको लागि कप्तान सन्दिप जोराले ३९ रन बनाउँदा लोकेश पमले ३१ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।
यसअघि आजै भएको पहिलो खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । अब आज हुने अर्को खेलमा नेपालले भारतको सामना गर्नेछ । खेल दिउसो साढे ११ बजे सुरु हुनेछ ।
