काठमाडौं । साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला फूटबल टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । शुक्रबार अखिल नेपाल फूटबल संघ(एन्फा)ले नेपाली टोलीलाई बिदाइ गरेको हो ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३ नयाँ खेलाडी समेट्दै गत सोमबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।
प्रशिक्षक राजेन्द्र तामाङले सबिना चौधरी, सरस्वती हमाल र चन्द्र भण्डारीलाई नयाँ खेलाडीका रुपमा राख्दै टिम घोषणा गरेका हुन् । नेपाली टोलीमा एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर,उषा नाथ, गीता राना, अमृता जैशी, हीराकुमारी भुजेल, विमला बीके, निशा थोकर, पूजा राना, समीक्षा घिमिरे, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी. प्रिति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ र सबिता रानामगर रहेका छन् ।
आगामी फागुन ७ गतेबाट हुने च्याम्पियनसिपमा नेपाल रहेको समूह बीमा प्यालेस्टाइन, सिरिया र इराक छन्। समूह ए मा आयोजक साउदीसहित ग्वाम, लेबनान र जोर्डन छन् । नेपालले पहिलो खेलमा फागुन ८ गते सिरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।