दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० मा आयोजना भएको छब्दी चाँपस्वरा धमाका मेला-२०८० को खर्चविवरण सार्वजनिक भएको छ । आयोजक छब्दी चाँपस्वरा युथ क्लबले शुक्रबार बिहान खर्च सार्वजनिकीकरण एम्वम् छब्दी मा.वि परिसर सरसफाई कार्यक्रमको आयोजना गर्दै मेलाको आय व्यय सार्वजनिक गरेको हो ।
मङ्सिर १४ देखि १८ गतेसम्म भएको साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सास्कृतिक कार्यक्रमबाट कुल ८ हजार ९ सय ४० रुपैयाँ बचत भएको क्लबका अध्यक्ष हरिचन्द्र थापाले जनाए । यस्तै नगरपालिकाबाट २० हजार रुपैयाँ, वडा नम्बर १० बाट ३० हजार तथा लोकप्रिय युवा क्लब र साखे युथ क्लबबाट समान ३/३ हजार रुपैयाँ उठ्न उठाउन बाँकी रहेको बताउँदै समाग्रमा ६४ हजार ९ सय ४० रुपैयाँ बचत भएको क्लबका अध्यक्ष थापाले जनाए ।
देश विदेशमा रहेका गाउँका व्यक्तिसँगै विभिन्न संस्थाबाट चन्दा उठाएको क्लबले २ लाख ८० हजार १ सय ९० रुपैयाँ आम्दानि गरेको थियो । जसबाट विभिन्न शीर्षकमा २ लाख १५ हजार २ सय ५० रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-१० का वडाअध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, पूर्व वडा अध्यक्ष रामचन्द्र भण्डारी, क्लबका अध्यक्ष हरिचन्द्र थापा, छब्दी माध्यामिक विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद सिग्देलसँगै विद्यालयका शिक्षक शिक्षिका, आमा समूह, टोल विकास समूह, चन्दादाता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष तथा प्रमुख अतिथि भट्टराईले अनुशासन विकास र गतिशीलता आजको युवामा निकै आवश्यकता रहेको बताए । पछिल्लो समय विकृति विसंगति बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न युवाहरुको आवश्यकता रहेको उनले बताए । यस्तै विद्यालयको मात्र भर नपरी आफ्नो बालबच्चाको आफै घरमा निगरानी राख्न अभिभावकलाई वडा अध्यक्ष भट्टराईले आग्रह गरेका हुन् ।
यस्तै क्लबका अध्यक्ष थापाले प्रतियोगिताबाट बचत रकम क्लबको खातामा राखिने नेपाल समाजलाई बताए । उनले भने, “विगतमा आर्थिक बाटोमा केहि गल्ति भएपनि यसपटक कुनै गल्ति नगरी प्रतियोगिताबाट बचेको रकम क्लबको बैंक खातामा राख्नेछौ । यस संस्करणबाट बचेको रकम आगामी वर्ष यस्तै प्रतियोगिता संचालन गर्न थपथाप गर्नेछौ।” खर्च सार्वजनिक कार्यक्रमपछि आयोजकले छब्दी मा.विको प्राङ्गण र विद्यालयको परिसरमा सरसफाई गरेको थियो ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराकासाथ आयोजना भएको प्रतियोगिताको भलिबलतर्फ आयोजक छब्दी चाँपस्वरा युथ क्लबलाई हराउँदै प्रगतिशिल युवा क्लब, धरादीले उपाधि चुमेको थियो । धरादीले नगद ३० हजार रुपैयाँसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने आयोजकले २० हजारमा चित्त बुझाएको थियो । यस्तै तेस्रो हुन सफल दशगाहा युथ क्लबले १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको हो ।
यस्तै सांस्कृतिक कार्यक्रम अन्तर्गत भएको लोक दोहोरी प्रतियोगिताका देउराली आमा समूह प्रथम हुँदा छब्दी आमा समूह दोस्रो र प्रगति आमा समूह सान्त्वना हुन सफल भएको थियो । प्रथम हुने देउरालीले नगद ६ हजार, दोस्रो हुने छब्दीले ४ हजार र सान्तवनामा चित्त बुझाएको प्रगति आमा समूहले एक हजार पाँचसय रुपैयाँ प्राप्त गरेको थियो ।