सुनसरीमा दंगा नियन्त्रणको नाममा लापरबाहीपूर्ण रूपले गोली प्रहार गरियोः सुदन किराँती

काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरेर देशलाई अशान्तितर्फ धकेल्ने प्रयास भइरहेको बताएका छन् ।

सुनसरीमा भएको घटनाका सन्दर्भमा सामाजिक सञ्जालमार्फत उनले सामाजिक सद्भाव र एकताको बाटो अवलम्बन गर्न नेपाली समाजलाई अपील गरेका छन् ।

उनले भनेका छन्, हामी स्पष्ट छौँ । देशका विभिन्न स्थानमा पछिल्लो समय भएका घटनाले हामी सबैलाई गम्भिर र संवेदनशील बनाएको छ । जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरेर देशलाई अशान्तितर्फ धकेल्न खोज्ने प्रयास भइरहेका छन् । तर, ती प्रयासहरू सफल हुने छैनन् । उत्तेजना होइन संयमता, द्वन्द्व होइन संवाद । घृणा होइन सहिष्णुता, विभाजन होइन सामाजिक सद्भाव र एकताको बाटो अवलम्बन गरौं । हामी विश्वस्त छौँ कि अन्तत नेपाली समाजले यही बाटो रोज्नेछ ।’

उनले दंगा नियन्त्रणको नाममा लापरबाहीपूर्ण रूपले गोली प्रहार गरी नागरिकको ज्यान लिने राज्यको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘विविधता हाम्रो पहिचान हो र एकता हाम्रो शक्ति हो । यही एकता, सद्भाव र आपसी विश्वासबाट मात्र शान्त, समृद्ध र सुरक्षित नेपालको निर्माण सम्भव छ भन्नेमा हामी स्पष्ट छौं । अन्त्यमाः दंगा नियन्त्रणको नाममा लापरबाहीपूर्ण रूपले गोली प्रहार गरी नागरिकको ज्यान लिने राज्यको प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउँदछु । यस्ता घटना पुनःदोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था र आवश्यक सतर्कता अपनाउन नेपाल सरकारसँग माग गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *