सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जनताको हितमा नरहेको बताएका छन् ।
बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसीको विरुद्धमा प्रधानमन्त्री प्रचण्डसमेत लड्ने विश्वास व्यक्त गरे । उनले उपनिवेशवाद कुनै हालतमा स्वीकार गर्न नसिकने बताए ।
उनले भने, ‘अनुदान हो भने ठिक छ तर त्यसका नाममा हस्तक्षेप स्वीकार्य छैन । यसविरुद्ध प्रचण्ड लड्नुहुन्छ भन्ने विश्वास छ ।’ महासचिव विप्लवले समाजवादी मोर्चा क्रान्तिको प्रतिक भएको बताए ।
चार दलबीच फरक मत भएपनि नेपाललाई उपनिवेश बनाउन चाहने साम्राज्यवादी तत्वहरुविरुद्ध एकढिक्का रहेको दाबी गरे । अहिलेको सरकार प्रगतिशील रहेको भन्दै विप्लवले सुशासनका पक्षमा डटेर लाग्न प्रधानमन्त्रीलाई आग्रह गरे। उनले आफूहरु भ्रष्टाचार निर्मूल पार्न सडकबाट साथ दिन तयार रहेकोसमेत बताए ।