काठमाडौं । कतारमा सम्पन्न फिफा विश्वकप-२०२२ को उपाधि अर्जेन्टिनाले कब्जा गर्यो । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजीत गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको ट्रफीमा हात लायो ।
अर्जेन्टिनाले विश्वकप उपाधिको खुशियाली मनाइरहँदा समर्थकको मनमा भने विश्व विजेताले कति पुरस्कार राशी पायो भन्ने प्रश्न उठेको छ । त्यसैले विश्वकप विजेतासँगै अन्य टोलीले पाउने पुरस्कार रकम यस प्रकारको रहेको छ ।
विश्वकप विजेताले मात्र नभई विश्वकपमा सहभागिता जनाउने सम्पूर्ण टिमले नगद पुरस्कार पाँउछन् । विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाँउछ । जसको मूल्य २० मिलयन अमेरिकन डलर तथा झन्डै २ अर्ब ६६ करोड बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी अर्जेन्टिनाले विश्वकप जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैन ।
विश्व विजेता अर्जेन्टिनाले उपाधि सँगै नगद पुरस्कारपनि पाएको छ । अर्जेन्टिनाले हालसम्मको सबैभन्दा धेरै झन्डै ५ अर्ब ५८ करोड रुपैयाँ(नेपाल राष्ट्र बैंकको सोमबारको बिक्रि मुल्य अनुसार) नगद पुस्कार पाएको छ । जुन रसिया भएको पछिल्लो संस्करणमा फ्रान्सले पाएको भन्दा ५३ करोड रुपैयाँ बढी हो । यस्तै उपविजेता बनेको फ्रान्सले ३ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ पाएको छ ।
तेस्रो स्थान हात पारेको क्रोएसियाले ३ अर्ब ५८ करोड रुपैयाँ हात पार्दा चौथो स्थानमा चित्त बुझाएको अन्डर डग मोरक्कोले ३ अर्ब ३२ करोड रुपैयाँ पाएको हो । यस्तै क्वाटरफाइनलबाट बाहिरिएका सबै टोलीले समान २ अर्ब २५ करोड रुपैयाँ प्राप्त गरेका छन् भने अन्तिम १६ बाट बाहिरिएका टोलीले समान १ अर्ब ७२ करोड रुपैयाँ पाएका छन् ।
यस्तै समूहचरणबाट बाहिरिने टोलीलेपनि समान एक अर्ब १९ करोड रुपैयाँ प्राप्त गरेका छन् ।