शानदार जीतसँगै ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी । सर्वाधिक पाँचपटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप-२०२२ को क्वाटरफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजीत गर्दै ब्राजिलले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

रास अबु अबोउद स्टेडियममा भएको खेलमा ब्राजिललाई जीत दिलाउन भिनिसियस जुनियर, नेयमार जुनियर, रिचार्लिसन र लुकास पाक्विएटाले समान एक-एक गोल गरे । कोरियाको लागि सुंग-हो पाइकले एक गोल फर्काए । खेलको सातौँ मिनेटमा नेयमारको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई शूरुवाती अग्रता दिलाएका थिए ।

१३ औं मिनेटमा नेमयारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल सहज जीततर्फ अगाडि बढेको थियो । ३६ औं मिनेटमा भिनिसियसको पासमा पाक्विएटाले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा ४-० गोल को अग्रता दिलाए ।

७६ औं मिनेटमा पाइकले गोल गर्दै कोरियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल गर्न नसक्दा ब्राजिल ४-१ गोलले विजयी भयो ।

जीतसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गर्दा कोरिया प्रतियोगिताबाट बाहिरिएको छ । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । गएरातिनै भएको अन्तिम १६ को खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *