सीमा क्षेत्रमा भारतको दादागिरी

दार्चुला। जिल्लाको उत्तरी भू–भाग व्यास गाउँपालिकाको त्रिदेशीय सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी सदैव रहँदै आएको छ। राष्ट्रिय विकरालका रूपमा चिनिएको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणसम्म भएको यस क्षेत्रमा भारतीय पक्षको दबदबा रहँदै आएको छ। भारतीय पक्षले व्यास गाउँपालिकामा आफूअनुकूल गतिविधि सञ्चालन गरिरहँदा नेपाली नागरिक प्रत्यक्ष मारमा पर्दै आएका छन्।

सुरक्षाकर्मीका दुव्र्यवहार, तुइन काट्ने, सुरक्षा जाँचका नाममा खानतलासी, मालसामानमा रोकतोक तथा यात्रा अनुमतिपत्रका नाममा झन्झटका साथै पछिल्लो समय भारतीय पक्षले महाकाली नदीकिनारमा सडक निर्माण गरिरहेका बेला नेपालतर्फ अर्को दुःखद घटना भएको छ।

भारतीय पक्षले पश्चिम नेपालको सीमा क्षेत्र महाकाली नदीकिनारमा निर्माण गरिरहेको तवाघाट–लिपुलेक सडकमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर शुक्रबार बिहान नेपालमा हिँडिरहेका एक अबोध बालकको मृत्यु भएको छ। व्यास–२ स्थित तम्बाकु क्षेत्रमा बुवासँगै घर फर्किरहेका दुम्लिङका स्थानीय हिक्मत महराका ९ वर्षीय छोरा पवनको ढुंगाले लागेर मृत्यु भएको हो। तम्बाकुबाट दुम्लिङ घर फर्किरहेका बेला भारतीय सडक निर्माणमा जिलेटिन विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगा टाउकोमा लाग्दा पवनको घटनास्थलमै मृत्यु भएको हो।

घटना भएको जानकारी पाउनेबित्तिकै दुम्लिङ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको संयुक्त टोलीले मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले बताए। भारतीय बाटो हुँदै प्रहरी टोलीसहित शव जिल्ला सदरमुकाम पुर्‍याइएको छ। बालकको शवलाई शनिबार जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ।

शुक्रबार बिहान साढे ९ बजेतिर तम्बाकुको थी गाउँबाट फर्कने क्रममा पारि एक्कासि विस्फोट भई आएको ढुंगा लागेर पवनको टाउको क्षतविक्षत भएको व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बताए। दसैंतिहारको बिदामा बाख्रा चराउन तथा तरकारी लगाउन हिक्मतको परिवार थी गाउँ जाने र स्कुल बिदा सकिएपछि दुम्लिङ फर्कने क्रममा यस्तो घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए।

‘यसअघि भारतीय पक्षले विस्फोट गराउँदा सिठी बजाउँथ्यो। हिजो एक्कासि विस्फोट गराउँदा यस्तो गम्भीर दुर्घटना भयो’, वडाध्यक्ष बुढाथोकीको भने, ‘विगतका वर्षमा पनि भारतीय पक्षले सीमामा जानकारी नगराई विस्फोट गराउँदा दुई÷तीनजना मानिसका साथै जनावर घाइते भएका थिए। यही विस्फोटमा परी हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन्। उनको खुट्टामा चोट लागेको छ। जिल्ला अस्पताल खलंगामा उनको उपचार भइरहेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए।

अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ तर शुक्रबार भारतीय पक्षले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै दिएन। भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडकखण्डको लखिमपुरको चट्टानी भूभागमा सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले कुनै जानकारी नदिई विस्फोट गराउँदा घटना हुने गरेको स्थानीयको गुनासो छ। सीमा क्षेत्रमा हुने यस्ता क्रियाकलाप रोकिनुपर्नेमा स्थानीयले माग गरेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *