इङ्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी

एजेन्सी । युईएफए नेसन्स लिगमा इङ्ल्यान्ड र जर्मनीले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेलमा इङ्ल्यान्ड र जर्मनीले ३-३ गोलको बराबरी खेल्दै अङ्क बाढेका हुन् ।

वेम्बली रंगशालामा भएको खेलमा इङ्ल्यान्डको लागि लुक सह, मेसन माउन्ट र ह्यारी केनले समान एक-एक गोल गर्दा जर्मनीको लागि काइ हार्भेट्जले दुई गोल र इल्काइ गुन्डोगानले एक गोल थपे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको सबै ६ गोल दोस्रो हाफमा भएको हो । खेलमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य भयो ।

खेलको ५२ औं मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई शुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा वेर्नरको पासमा हार्भेट्जले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा रिक जेम्सको पासमा सहले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको स्थितिमा ल्याए । तीन मिनेटपछि साकाको पासमा माउन्टले गोल गर्दा इङ्ल्यान्डले खेलमा २-२ गोलको बराबरी गरेको थियो ।

८३ औं मिनेटमा केनले पेनाल्टीमा गोल गरेपछि इङ्ल्याड लिगमा पहिलो जीततर्फ अगाडि बढेको थियो । तर ८७ औं मिनेटमा गनाब्रीको पासमा हार्भेट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-३ गोलको बराबरी ल्याएपछि दुवै टोलीले एक-एक बाढेका हुन् ।

बराबरीसँगै ६ खेलबाट ३ अङ्क जोडेको इङ्ल्यान्ड समूहको पुछारमा रहँदै लिग ‘बी’मा घटुवा भएको छ । इङ्ल्यान्ड सन् १९९३ पछि पहिलोपटक लगातार ६ खेलमा जीतविहिन बनेको छ । यस्तै जर्मनी समान खेलबाट ७ अङ्क जोड्दै तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *