काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा निरन्तर तालाबन्दी, घेराउ र पदाधिकारी तथा कर्मचारीलाई धम्की दिइएर विश्वविद्यालयको काममा असहज अवस्था सिर्जना भएको बताएका छन् ।

विश्वविद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको नाममा एक समूहले आफ्नो कार्यकाल सुरु भएपछि कूल दुई सय ९२ दिन तालाबन्दी गरेको बताए

शैक्षिक माग सम्बोधन गर्न विद्यार्थी कल्याण र शिक्षाध्यक्षबाट निरन्तर र घण्टौँ वार्तामा बसेको पनि उनले बताए, “तर शैक्षिक माग देखाउने र अनौपचारिक रुपमा आफूले भनेको व्यक्तिलाई संकाय प्रमुख वा क्याम्पस प्रमुखको नियुक्ति दिनुपर्ने माग राख्ने र पूरा नगरे भौतिक आक्रमणसम्मको धम्की निरन्तर रुपमा दिँदै आएको छ”, उपकुलपति शर्माले भने ।

सम्मेलनमा त्रिवि परिसरमा सुरक्षाका दृष्टिले असहज परिस्थिति सिर्जना भएका कारण बैठक बस्न नसकेको पनि उनको भनाई छ । त्यसैले जमलस्थित एलो पेगोडा होटेलमा त्रिवि कार्यकारी परिषद्को बैठक बस्दा विद्यार्थीको नाममा आएका १०/१५ जनाको समूहले आफूलाई त्रिवि पदाधिकारी र कर्मचारीलाई हातपात गर्ने निर्णय पुस्तिका खोस्नेकाम गरेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी पदाधिकारीलाई धम्कीपूर्ण एसएमएस पठाउने कार्य पनि सोही समूहबाट भइरहेको विज्ञप्तिमा जनाइएको छ ।