साङ्गे ञ्येन्पा रिन्पोछेद्वारा लिखित तथा रत्न मङ्गलद्वारा अनूदित नेपाली पुस्तक प्रकाशित

काठमाडौँ । परमपूज्य क्याब्जे साङ्गे ञ्येन्पा रिन्पोछेद्वारा लिखित तथा बौद्ध अध्येता एवं अनुवादक तेन्जी शेर्पा (रत्न मङ्गल) द्वारा भोट भाषाबाट नेपालीमा अनूदित ‘महामुद्रा प्रणिधान: नीतार्थ धातुको सङ्गीत’ नामक पुस्तक प्रकाशित भएको छ ।

तेस्रो कर्मपा राङज्युङ दोर्जेद्वारा रचित प्रसिद्ध महामुद्रा प्रणिधानमा आधारित यस ग्रन्थमा मध्यमकको परशून्यतावादी दृष्टिकोणबाट महामुद्राको दार्शनिक आधार, ध्यानसाधना, चित्तको वास्तविक स्वरूप तथा परमसत्यको अनुभूतिसम्बन्धी विषयहरू व्याख्या गरिएका छन् । कर्मा काग्यु परम्परामा विशेष महत्त्व राख्ने महामुद्रा प्रणिधानको यस व्याख्याले दर्शन र साधनाबीचको सम्बन्धलाई स्पष्ट पार्दै साधक तथा अध्येताहरूलाई महामुद्राको गहन अर्थ बुझ्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

पुस्तकमा उल्लेख भएअनुसार परमपूज्य साङ्गे ञ्येन्पा रिन्पोछेले दिनुभएको दोस्रो मौखिक व्याख्याका आधारमा यो ग्रन्थ तयार गरिएको हो । रिन्पोछेले नवसाधकहरूको हितलाई ध्यानमा राख्दै उक्त व्याख्या स्वयं लिपिबद्ध गरेका थिए । यसको लेखन सन् २००७ जनवरी २६ मा सम्पन्न भएको थियो । पुस्तकमा समावेश शुभकामना सन्देशमा रिन्पोछेले ग्रन्थको नेपाली अनुवादप्रति प्रसन्नता व्यक्त गर्दै अनुवादकको कार्यको प्रशंसा गरेका छन् । साथै, यसबाट नेपालीभाषी पाठकहरू लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

यस ग्रन्थका अनुवादक तेन्जी शेर्पा (रत्न मङ्गल) सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२, रामितेमा जन्मिएका बौद्ध अध्येता, लेखक तथा अनुवादक हुन् । उनले बाल्यकालदेखि नै बौद्ध दर्शन तथा शास्त्रहरूको अध्ययन गर्दै आएका छन् । परमपूज्य फाक्क्षोक रिन्पोछेबाट शरणगमन शील ग्रहण गरी ध्यान तथा साधनाविधिहरू प्राप्त गरेका उनले विभिन्न बौद्ध आचार्यहरूबाट शास्त्रीय शिक्षा तथा साधनासम्बन्धी मार्गदर्शन प्राप्त गरेका छन् ।

उनका अनूदित तथा प्रकाशित कृतिहरूमा ‘अनात्मादेखि परमात्मासम्म?’, ‘उपवास विधि’, ‘मनोकामना सिद्धि पूजा’, ‘पूर्ण मुक्तिको मार्ग’ तथा ‘मणि साधना’ लगायत रहेका छन् । अनुवादकले परमपूज्य साङ्गे ञ्येन्पा रिन्पोछेबाट महामुद्रा प्रणिधानको आगम तथा आशीर्वाद प्राप्त गरी सम्पूर्ण प्राणीहरूको हितार्थ यो ग्रन्थ नेपालीमा अनुवाद गरेका हुन् । उनले विक्रम संवत् २०८२ भदौ २ गते काठमाडौँस्थित बौद्ध स्तूपनजिकै आफ्नो निवासमा अनुवाद सम्पन्न गरेका थिए ।

भेन्छेन सुङराव ग्युन्पेल खाङद्वारा प्रकाशित यस पुस्तकको सम्पादन कर्मा वाङ्छुक शेर्पा र बद्रीप्रसाद ढकालले गरेका छन् । टाइपिङ रिलमु शेर्पाले तथा लेआउट र डिजाइन जिग्मे वाङ्छुक र रिल्मु शेर्पाले गरेका हुन्। सन् २०२६ मा प्रकाशित पुस्तकको पहिलो संस्करण एक हजार प्रति छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *