‘प्रधानमन्त्रीको भारत भ्रमणमा विवादभन्दा उपलब्धिलाई प्राथमिकता दिनु सही’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता रवीन्द्र मिश्रले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणको तयारी, कार्यान्वयन र उपलब्धिलाई असाधारण भन्दै प्रशंसा गरेका छन्। उनले प्रधानमन्त्री सहलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले जेल–नेल नखाएको र लामो राजनीतिक अनुभव नभएको ३६ वर्षका युवाले भारत भ्रमणको तयारी तथा कार्यान्वयनमा परिपक्वता देखाएको उल्लेख गरेका छन्।

उनले हरेक भारत भ्रमणमा विवादित विषय उठाउनैपर्ने बाध्यता नरहेको भन्दै यसपटक प्रधानमन्त्री शाहले अपनाएको शैली सही भएको टिप्पणी गरेका छन्। विवादका विषय उठाउने समय पछि पनि आउने भन्दै उनले भ्रमणमा अन्य सम्भावना र उपलब्धिलाई प्राथमिकता दिनु सकारात्मक भएको बताएका छन्।

मिश्रले भ्रमणका उपलब्धिलाई वास्तविकतामा बदल्न भने चुनौती रहेको उल्लेख गर्दै दुई विषयमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
उनका अनुसार भ्रमणका क्रममा गरिएका वाचा कार्यान्वयन हुन्छन् कि हुँदैनन् र कहिलेसम्म कार्यान्वयन हुन्छन् भन्ने विषय महत्वपूर्ण छ। विगतका अनुभव त्यति उत्साहजनक नभएको भन्दै उनले प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, प्रधानमन्त्रीको कार्यकाल विकासमैत्री र सुशासनयुक्त हुँदैमा मात्रै देशको दीर्घकालीन हित सुनिश्चित नहुने मिश्रको भनाइ छ। नेपाल राष्ट्रका रूपमा सुशासन र विकासले मात्रै दीर्घकालीन हित तथा अस्तित्व जोगाउन नसक्ने अवस्था नजिक पुगेको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर रूपमा विचार गर्नुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *