यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

कायरो । यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।

यमनी सेनाका दुई अधिकारीका अनुसार, इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार दक्षिणी प्रान्त शबवास्थित ‘अल–आलम’ सैन्य शिविरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेका थिए।

अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारका ती अधिकारीहरूले सञ्चारमाध्यमलाई जानकारी दिन आधिकारिक अनुमति नपाएकाले नाम गोप्य राख्ने सर्तमा घटनाबारे जानकारी दिएका हुन्।

पछिल्ला दिनमा यमनमा बढ्दै गएको द्वन्द्वका घटनामध्ये यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो। इरान र अमेरिकाबीचको व्यापक द्वन्द्वका कारण क्षेत्रीय तनाव चुलिएसँगै केही महिनायता यमनमा पनि लडाइँ तीव्र बनेको छ।

हुथी विद्रोही र साउदी अरब समर्थित सरकारी सेनाबीच बढ्दो तनावले सन् २०२२ मा भएको युद्धविरामलाई कमजोर बनाएको छ। उक्त युद्धविरामले यमनको गृहयुद्धमा जारी लडाइँलाई धेरै हदसम्म नियन्त्रणमा राख्न मद्दत गरेको थियो।

यसैबीच, हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, आइतबार साउदी नेतृत्वको गठबन्धनले गरेको भनिएको हवाई आक्रमणमा यमनको उत्तरी प्रान्त सादामा कम्तीमा नौ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेका छन्।

हुथी विद्रोहीका अनुसार, सप्ताहान्तमा भएका यस्तै अन्य आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको वा उनीहरू घाइते भएका छन्। यी घटनाबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *