त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

काठमाडौं । प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ ।

यस्तो कारबाही गरिएका सबै जना करार सेवामा कार्यरत अध्यापक रहेको त्रिविले जनाएको छ । परीक्षासम्बन्धी गोपनीयताका कारण उहाँहरूको नाम त्रिविले गोप्य राखेको छ ।

त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन बिहेविअर’ विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ ।

त्यस्तै बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न ‘सोसोलोजी फर बिजनेस’ विषयको सोधिएको थियो ।

बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले उक्त प्रश्नपत्र डिन कार्यालयको प्रश्नपत्र बैङ्कमै रहेको अवस्थामा नमुना प्रश्न भन्दै आफ्नो पाठ्यपुस्तकमा हुबहु समावेश गरेका थिए ।

त्रिविका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बाँस्कोटाले परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षाप्रति गम्भीर खेलबाड गरेकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै शङ्करदेव क्याम्पसले यसै वर्षको प्रिबोर्ड परीक्षामा मौलिक प्रश्न नसोधी बजारमा पाइने पुस्तकबाट हुबहु सोध्ने प्रश्नकर्तालाई डिन कार्यालयको परीक्षासम्बन्धी सबै गतिविधिमा संलग्न नगराउने निर्णय गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *