काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा वाम आन्दोलनले एकता नभई पूर्ण पुनर्गठन खोजेको बताएका छन् । शनिबार सामाजिक संजालमार्फत भुसालले अहिलेका पार्टीबाट आन्दोलन र मुलुकलाई कुनै सकारात्मक योगदान हुँदैन भनेर भित्रभित्रै वाम आन्दोलनकै ‘पूर्ण पुनर्गठन’ बारे चर्चा गहिरिँदै गएको बताएका हुन् ।
भुसालले भनेका छन्, ‘अहिलेका कम्युनिस्ट पार्टीहरूको एकता र यिनै पार्टीहरूको सरकार बनाएर वामपन्थलाई कुनै योगदान हुँदैन/भएन, त्यसैले आज वाम आन्दोलनले एकता होइन बरु ‘पूर्ण पुनर्गठन’ खोजेको छ । तर एकपछि अर्को धक्काबाट गुज्रिँदै गरेको र त्यही अनुपातमा सिद्धान्तहीन, विचारहीन हुँदै गएका पार्टीहरूलाई नजिकबाट हेरिरहेका बौद्धिक तथा जनसाधारणलाई यस प्रश्नले झक्झक्याइरहेको छ । एकातिर, आगामी निर्वाचनमा एकले अर्को कम्युनिस्ट पार्टीलाई ‘धूलो चटाउने’ र आफ्नो औचित्य पुष्टि गर्ने प्रतिस्पर्धा छ भने अर्कातिर, यी कम्युनिस्ट पार्टीहरूकै बीचमा तालमेल गर्ने र फेरि सरकार बनाउने छटपटी छ । यसैबीच, अहिलेका पार्टीबाट आन्दोलन र मुलुकलाई कुनै सकारात्मक योगदान हुँदैन भनेर भित्रभित्रै वाम आन्दोलनकै ‘पूर्ण पुनर्गठन’ बारे पनि चर्चा गहिरिँदै छ ।’