काठमाडौं । काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्रयाप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले मानिसहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले युवतीको प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको महाशाखाले बताएको छ । पक्राउ पर्नेमा दुई महिला र चार जना पुरुष छन् ।
प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भइ हाल पेप्सीकोला बस्ने १८ वर्षीया मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्व बस्ने वर्ष ३० को सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षको निमा लामा तथा सोही स्थानको वर्ष ३० को पासाङ लामालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सो समूहले युवतीको समूहलाई सामाजिक सञ्जालमार्फत परिचालन गरेर सुरुमा फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गर्ने गरेको थियो । त्यसपछि पुरुषलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाई फसाउने धम्की दिँदै पीडितलाई दवाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई ब्ल्याकमेल गर्न सुरु गर्छन् ।
अनि युवतीका नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेको अनुसन्धानले देखाएको छ । पक्राउ परेका उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
