काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिरहामा भएको घटना सामान्य भएको बताएका छन् । शनिबार सिरहाको औरही नगरपालिकामा भएको कार्यक्रममा होहल्ला गरेपछि शिक्षामन्त्री भाषण गर्दागर्दै बाहिरिएका थिए । तर मन्त्री पोखरेलले घटना सामान्य भएको बताएका छन् ।
सामाजिक संजालमार्फत पोखरेलले भनेका छन्, ‘आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ । त्यही घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ। लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’
उनले यो घटनालाई लिएर भ्रम फैलाउने काम नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि हुनु स्वाभाविक होला। तर, त्यसैका आधारमा भ्रम फैलाउनेभन्दा हामीले गरिरहेको कामलाई जनताले आफैँ मूल्याङ्कन गर्न दिनु राम्रो हुन्छ। हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ। हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन् ।’
कार्यक्रममा उनी प्रमुख अतिथिको वक्ताको रुपमा सम्बोधन गर्न थालेपछि विवाद सुरु भएको थियो । जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोलाई बोल्न समय नदिई मन्त्रीलाई आग्रह गरिएपछि विवाद भएको थियो । त्यसपछि सम्बोधन गरिरहेका मन्त्री कार्यक्रमबाट बाहिरिएका थिए ।
