संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल

वीरगञ्ज  । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन्।

वीरगञ्जमा शनिबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याए।

सहसंयोजक नेपालले भने, ‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ। जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन।’

उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु हामी सबैको दायित्व भएकाे बताए।

नेपालले  वर्तमान सरकारप्रति जनताको तीव्र आकाङ्क्षा भएकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राखे। यही भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्ने उनको भनाइ छ।

नेपालले भने, ‘देश अहिले विपत्मा छ, हिमाली बाढीका कारण ठूलो जनधनीको क्षति भएको छ। खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ।’

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *