काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बलेफी तेम्बाथान मोटरबाटो निर्माणका क्रममा झुटा विवरण पेस गरी राज्यलाई ३६ लाख ४९ हजार ८९९ रुपैयाँ नोक्सान पुर्याएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
जुगल गाउँपालिकामा बलेफी तेम्बाथान मोटरबाटो आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरेको, झुट्टा विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्डबमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरे/गराइएको, डोरहाजिर साथै माइन्युटमा पनि कीर्ते हस्ताक्षर गरेको लगायत आरोप उनीहरुमाथि लागेको छ ।
आरोपित प्रमुख प्रशासकीय अधिकृत अर्याल, इन्जिनियर पौडेल र असिस्टेन्ट सव–इन्जिनियर घिमिरेउपर ३६ लाख ४९ हजार ८९९ नै बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना बिगोसमेत असुलउपर हुन मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यस्तै लेखापाल सतेन्द्र यादवले सोही आयोजनामा मानिसद्वारा काम गर्ने इस्टिमेट/सम्झौता/कार्यादेशको ठाडै बर्खिलाप हुने गरी मेसिन प्रयोगबापत इन्धन खर्चबापत ३६ लाख ४९ हजार ८९९ बढी भुक्तानी दिइएकोले उनीविरुद्ध पनि सोहीबराबर बिगो मागदाबी माग गरिएको छ ।
